काठमाडौँ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हालै सम्पन्न पाँचदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको परराष्ट्र सचिव अमृतबहादुर राईले दाबी गरेका छन्। बुधबार राति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव राईले भ्रमणका उपलब्धि र उच्चस्तरीय भेटघाटबारे जानकारी गराए।
प्रधानमन्त्री ओली भदौ १४ गते चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए। सचिव राईका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङ र उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। साथै, उनले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को थियानजिन सहरमा आयोजित शिखर सम्मेलनमा भाग लिने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विभिन्न राष्ट्र र सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीको यस भ्रमणको मुख्य उद्देश्य एससीओ शिखर सम्मेलनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु र यस सङ्गठनमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो। सन् २००१ मा स्थापना भएको एससीओ संगठनमा चीन, रूस, भारत, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य राष्ट्रहरू छन्। अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन्। नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यान्मार, बहराइन र संयुक्त अरब इमिरेट्स यस सङ्गठनका संवाद साझेदारहरू हुन्।
यस भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय कूटनीतिमा थप सक्रिय बनाउन र विश्वका प्रमुख शक्तिहरूसँगको सम्बन्धलाई सुदृढ पार्न मद्दत पुगेको परराष्ट्र सचिव राईले बताए।