काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारको स्पष्ट नीति रहेको जानकारी दिए ।
प्रधानमन्त्री समक्ष सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको भावना व्यक्त गरेका थिए ।
सरोकारवालाले छलफलपछि प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू सकारात्मक भएको भावना व्यक्त गरेका छन् । उनीहरुले प्रारम्भिक शेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई रु ३० अर्ब पुर्याउने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।