काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालित यो कार्ड डिस्कभर नेटवर्कसँगको सहकार्यका कारण नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिनेछ। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भइसकेका छन्।
करिब ८ लाख ग्राहक र १२२ शाखा रहेको कामना सेवाले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै यो सेवा सञ्चालनमा ल्याएको हो। यसले ग्राहकलाई सुरक्षित र विश्वव्यापी रूपमा स्वीकार्य भुक्तानी प्रणालीमा पहुँच पुर्याउने बैंकको विश्वास छ।