काठमाडौँ । २०८२ साल चैत्र १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह (बालेन)ले शपथ लिए । पहिलो दिन मै मन्त्रिपरिषदले पूर्णता पाएको बालेन नेतृत्व सरकारले लगत्तै मन्त्रिपरिषदको बैठकद्वारा १०० बुँदे वाचापत्र सार्वजनिक गर्यो । प्रधानमन्त्री भएको २० दिन बेसी भइसक्दा पनि वाचापत्र वाचापत्र मै सिमित रहेको छ । जनाताले महसुस गर्ने काम खासै भएको देखिदैन । १०० बुँदाको वाचापत्रबाट अहिलेसम्म जम्मा ३ वटा सूची पुरा भएका छन् । ती हुन्, स्वच्छ निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट, प्रधानमन्त्री कार्यसम्पादन एकाई स्थापना र वाचापत्र घोषणाको १९ दिनपछि सट्टेबाजी एप र वेबसाइट २४ घण्टामा बन्द गर्ने एक्सन । वाचापत्रमा ढिलाइ भैराख्दा पनि जनता आशावादी बनेका छन् । त्यही आशाबीच निराशापनको डेरामा रहेका दलित समुदाय वाचा सम्बोधनको प्रतिक्षामा छन् ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीं रास्वापाको झण्डै दुई तिहाई बहुमतको सरकार छ । रास्वपाले दलित तथा पीछडिएका समुदायलाई प्रथामिकतामा राख्दै गर्दा १३ गते जारी घोषणा पत्रको बुँदा नम्बर ५ मा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरवञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी सहभागीताको पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने भनेर लेखिएको छ । एसियाली मुलुकमा यो चर्चाकै विषय बन्यो ।
भारतीय सांसद चन्द्रशेखर आजादले त नेपालमा बालेन्द्र शाह नेतृत्वको सरकारले चालेको यो कदमलाई “ऐतिहासिक र साहसिक“ भन्दै हाउसमै चर्चा गरेका थिए । उनले भारतमा पनि दलित समुदायमाथि हुने विभेदका सन्दर्भमा यस्तै प्रकारको राज्यस्तरको गम्भीरता र पहल आवश्यक रहेको तर्क समेत प्रस्तुत गरेका थिए ।
यता रास्वपाका सभापति रवि लामिछानेले पनि प्रतिनिधि सभाको पहिलो बैठकमै संसदको रोस्टममा उभिएर दलित समुदायसँग माफी मागेका थिए । जसको भिडियो सामाजिक सञ्जालमा व्यापक प्रसारित भएको थियो । तर, सरकार गठन भएको यतिका दिन वित्दा पनि अहिलेसम्म वाचापत्र कार्यान्वयनले गति लिएको देखिन्न । सरका गठन भएको १५ दिनभित्र कार्यान्वयन गर्ने भनिएता पनि मेलो अझै आइसकेको छैन ।
यसरी सुरु भयो दलितमाथि विभेद

नेपाली समाजमा विभेदको सुरुवात वर्णाश्रम’ व्यवस्थाबाट भएको भन्ने गरिन्छ । सुरुमा यो कार्यविभाजनमा आधारित भएता पनि समय क्रममा यो जन्मका आधारमा ’जात’ व्यवस्थामा रुपान्तरित भएको व्याख्या गर्छन्, जानकारहरु ।
तत्कालीन मल्ल शासक जयस्थिति मल्लले समाजलाई ६४ जातमा विभक्त गरेर प्रत्येकको काम र सामाजिक मर्यादा तोकेको इतिहासकारहरुको मत छ । यसले जातीय विभेदलाई पहिलो पटक राजकीय रूपमा कानूनी र सामाजिक ढाँचामा संस्थागत ग¥यो । दलित समुदायमा संरचनागत रुपमै विभेद हुँदै आएको दलित अधिकारकर्मीहरु बताउँछन् ।
दलित विभेदको इतिहास केवल सामाजिक मात्र नभई राज्यद्वारा निर्देशित र कानूनी रूपमा संरक्षित दमनको इतिहास हो भन्छन्, अभियन्ताहरु । कतिपय अवस्थामा छुवाछुतको विषयले साम्प्रदायिकताको रुप लिएर भएका झडपमा अधिकारका लागि संघर्ष गर्ने दलितहरुले मृत्यु वरण गरेका तथ्यहरु छन् । अहिले पनि नेपाली समाजमा दलित भन्ना साथ अलिक हेयको दृष्टि राख्ने चस्मा बाँकी नै छ । यसले एउटा ठूलो जनसंख्यालाई शताब्दीऔँसम्म अनेक कष्ट थोपरिरहेको छ ।
कानूनी रूपमा स्थापित दलन

दलितमाथिको विभेदलाई कानूनी रुपमा संस्थागत र मलजल गर्ने काम १९१० को मुलुकी ऐनले प्रारम्भ गरेको देखिन्छ । यो ऐनले दलितहरूलाई शिक्षा, सम्पत्ति र सम्मानजनक जीवनबाट वञ्चित गर्दै विभेद गर्नेलाई कम र दलितलाई बढी सजायको व्यवस्था गरेको थियो । यद्यपि, राजा महेन्द्रले १९१० को ऐनलाई विस्थापित गर्दै जातीय छुवाछूतलाई कानूनी रूपमा वर्जित गरेर थोरै भएपनि राहात भएको देखिन्छ । तर, व्यवहारमा विभेद जारी नै रह्यो । यता २०६३ को जनआन्दोलन पछि भने नेपाललाई “छुवाछूत मुक्त राष्ट्र“ घोषणा गरियो । छुवाछुतमुक्त राष्ट्र घोषणा गरेता पनि छुवाछुतको अन्त्य भने हुन सकेको छैन ।
पछिल्लो उपलब्धी
पछिल्लो समय जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ बन्यो र यसले सार्वजनिक वा निजी स्थानमा गरिने छुवाछूतलाई दण्डनीय अपराध मानेको छ । तर यो कानूनको परिपालनामा पनि राज्य संयन्त्रको ध्यान पुग्न सकेको छैन ।
संवैधानिक हक

नेपालको संविधान २०७२ ले मौलिक हक मै ’छुवाछूत तथा भेदभाव विरुद्धको हक’को व्यवस्था गरेको छ । धारा ४० मा ’दलितको हक’ लाई मौलिक हकको रूपमा व्यवस्था गरेपनि यति लामो कानूनी र ऐतिहासिक दमनका कारण दलित समुदाय अझै पनि आर्थिक, शैक्षिक र राजनीतिक रूपमा पछि नै छन् । यसैको क्षतिपूर्तिको रूपमा अहिले राज्यस्तरबाट माफी र विशेष अधिकारको चर्चा सुरु भएको भन्न थालिएको छ । तर, यसको कार्र्यान्वयनमा देखिएको उदासिनताले दलित समुदायमा उत्साह पैदा गर्न सकेको छैन ।
कानून हुँदा हुँदै मारिए दलित

विभेदका कारण दलित समुदायका धेरै मानिसले मृत्यु वरण गरेका छन् । छुवाछुतको अवस्था कति भयावह छ भन्ने तथ्याक रुकुम पश्चिम चौरजाहारीमा भएको सामूहिक हत्याको घटनाले देखाउछ । नवराज विक र उनका ५ साथीहरू २०७७ मा मल्ल थरकी युवतीसँगको प्रेमका कारण क्रुरतापूर्वक मारिएका थिए । यो नेपालको इतिहासकै सर्मनाक जातीय हिंसा मानिन्छ ।
त्यसोत, नवराज र उनका साथीहरु लखेटेर माथिएको सोती नरसंहार एउटा प्रतिनिधि घटना मात्रै हो । उपल्लो जातसँग प्रेम गर्दा मारिएका अजित मिजारले न्याय पाउन सकेका छैनन् । काभ्रेमा २०७३ गैर(दलित युवतीसँग प्रेम विवाह गरेको केही दिनमै उनको शव फेला परेको थियो ।
२०७० मा धनुषा प्रहरीको हिरासतमा शम्भू सदाको शंकास्पद मृत्यु भएको थियो । जसमा जातीय विभेद र न्यायमा पहुँचको अभावलाई कारण मानिएको छ । अंगिरा पासी रुपन्देहीको २०७० मै बलात्कारपछि हत्या भएको थियो । उनले न्याय नपाएको घटना ताजै छ ।

तश्विर नयापत्रिका बाट
विभिन्न अधिकारवादी प्रतिवेदनका अनुसार, २०७२ मा संविधान जारी भएपछि मात्रै जातीय विभेदकै कारण ३० भन्दा बढी दलितको हत्या भएको तथ्याङ्क छ । विभेद तथा छुवाछूत कै कारण धैरै दलितहरु मारिएका छन् । वास्तवमा दलित समुदायको उत्थान र न्यायका लागि कानूनी लगत मात्रै पर्याप्त होइन सामाजिक संरचनामा पनि परिवर्तनको लहर ल्याउन जरुरी छ । अन्यथा क्षमायाचनाको सरकारी कदम फगत गफ मात्रै हुनेछ ।