काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या गत वर्षको तुलनामा बढे पनि अहिले सरोकारवालाहरू मौन रहेको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले राजनीतिक स्वार्थका आधारमा एउटै विषयलाई फरक–फरक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाए।
"पोहोर यतिबेला विदेश जानेको विषयमा निकै हल्ला भयो, अहिले त्योभन्दा धेरै मानिस बाहिर जाँदा पनि सबै चुपचाप छन्," ओलीले भने। उनले विगतमा वैदेशिक रोजगारीको आलोचना गर्नेहरूले नै अहिले यसलाई युवाको अधिकारका रूपमा व्याख्या गरेर वास्तविक समस्या लुकाउन खोजेको दाबी गरे।
सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारको पृष्ठभूमिमाथि पनि कडा प्रहार गरे। उनले अहिलेको सरकार हत्याहिंसा, तोडफोड र आगजनीको जगमा बनेको आरोप लगाउँदै राजनीति दिशाविहीन र थितिविहीन बनेको टिप्पणी गरे। लोकतन्त्रमा सरकार परिवर्तन संवैधानिक र कानुनी प्रक्रियाबाट हुनुपर्नेमा जोड दिँदै उनले संसद्मार्फत जनतामाझ सही तथ्य पुर्याउन सांसदहरूलाई आग्रह गरे।