काठमाडौँ । मेटाका सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टाको विश्वव्यापी अवरोधपछि पुनः सञ्चालनमा आएका छन्। आइतबार दिउँसो करिब १:३० बजेदेखि देखिएको प्राविधिक समस्या दिउँसो ३ बजेतिर समाधान भएको हो।
नेपालमा विशेषगरी डेस्कटप ब्राउजरबाट फेसबुक लगइन गर्दा प्रयोगकर्ताहरूले ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देख्नुपरेको थियो। मोबाइल एपमा भने धेरैजसो प्रयोगकर्ताको सेवा सामान्य नै रहेको पाइएको थियो। अनलाइन सेवा निगरानी गर्ने प्लेटफर्म 'डाउनडिटेक्टर'का अनुसार यो समस्या अमेरिकाबाट सुरु भई विश्वव्यापी बनेको थियो, जहाँ ६३ प्रतिशत प्रयोगकर्ताले वेबसाइट (डेस्कटप) मा समस्या आएको रिपोर्ट गरेका थिए।
सेवा पुनः सुचारु भए पनि यो समस्या के कारणले उत्पन्न भएको हो भन्नेबारे मेटाले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन। यसअघि पनि पटक-पटक मेटाका प्लेटफर्महरूमा यस्ता छोटो अवधिका प्राविधिक समस्याहरू देखिने गरेका छन्।