काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा फैलाउन सके भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री पुनले मनलाई शुद्ध बनाउनु आजको प्रमुख आवश्यकता भएको र त्यसको उत्तम माध्यम योग र ध्यान भएको बताए । "मन शुद्ध नभए लोभ, लालसा र घमण्ड पैदा हुन्छ, जसले भ्रष्टाचार मौलाउँछ," उनले भने, "भ्रष्टाचार हटाउने औषधि त बन्दैन, तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्छ ।"
उनले योग र ध्यानलाई गाउँ-गाउँसम्म पुर्याउन सबैलाई आग्रह गरे । विद्यालयहरूमा अतिरिक्त क्रियाकलापमार्फत योग र ध्यानलाई समावेश गर्न आफूले निर्देशन दिइसकेको पनि उनले जानकारी दिए ।
"योग र ध्यान पढाउने होइन, गराउने विषय हो," मन्त्री पुनले भने, "विद्यालयमा शुक्रबारलाई अतिरिक्त क्रियाकलापको दिनका रूपमा विकास गर्नेबारे कुरा उठाएको छु ।" उनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्धता प्रदान गर्नु रहेको बताए ।