काठमाडौँ, जेठ ३१ ।
भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। भारतीय दूतावासले काठमाडौं, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो।
दूतावासका अनुसार, सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका स्वास्थ्य संस्थालाई यी एम्बुलेन्सहरू प्रदान गरिएको हो। काठमाडौँस्थित भारतीय दूतावासमा आयोजित मुख्य कार्यक्रममा नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संस्थालाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। यसैगरी, वीरगञ्ज महानगरपालिका र पोखरामा सात-सात तथा धरानमा चारवटा एम्बुलेन्स सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै नियोग उपप्रमुख श्रीवास्तवले भारत(नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ गर्न यो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। एम्बुलेन्स प्राप्त गर्ने संस्थाहरूका प्रतिनिधिले पनि यसले नागरिकलाई समयमै स्वास्थ्य सेवा पुर्याउन ठूलो मद्दत मिल्ने बताए।
यो सहयोग भारतले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्सा हो। दूतावासका अनुसार, सन् १९९४ देखि हालसम्म भारतले नेपाललाई १,०४९ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ। यसबाहेक, भारतले ३०० स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० सवारीसाधन र अन्य विभिन्न प्रयोजनका लागि पनि सवारीसाधन सहयोग गर्दै आएको छ।