चन्द्रप्रसाद ढकालको व्यवसायिक यात्रा निकै सानो प्रयासबाट सुरु भएको थियो। उनले प्रारम्भमा कार्गो व्यवसायबाट सुरुवात गरे, जहाँ सामान ढुवानी तथा बिप्रेषणको कार्य हुन्थ्यो। त्यसैकारण उनलाई बजारको माग, सेवा प्रवाह र ग्राहक सन्तुष्टिको गहिरो अनुभव प्राप्त भयो। यिनै अनुभवले उनलाई व्यवसाय विस्तारतर्फ प्रेरित गर्यो।
क्रमशः उनले अन्य क्षेत्रमा पनि लगानी गर्न थाले। उनले आईएमई समूह (IME Group) को स्थापना गरे, जुन अहिले नेपालकै एक प्रमुख व्यवसायिक समूहको रूपमा चिनिन्छ। यस समूहले बैंकिङ, अटोमोबाइल, सूचना प्रविधि, पर्यटन, उर्जा, बिप्रेषण, पसमिनाजन्य उत्पादनको निर्यातजस्ता विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ।
आईएमई समूह अन्तर्गत उनले स्थापना गरेका प्रमुख कम्पनीहरूमा ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई अटोमोटिभ्स प्रा. लि., इलाईट क्यापिटल, हिमालयन पावर पार्टनर लिमिटेड, इन्टरनेशनल मनी एक्सप्रेस, माउन्टेन इनर्जी, अक्रस ट्राभल्स आदि पर्छन्। यी संस्थाहरूमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
चन्द्र ढकालको व्यवसायिक रणनीति नेपालभित्र मात्र सीमित छैन। उनले अन्तर्राष्ट्रिय बजार, बिप्रेषण, वित्तीय सेवा तथा विदेशी साझेदारीमार्फत पनि व्यवसाय विस्तार गरेका छन्। यही बहुआयामिक सोचले उनलाई नेपालकै सफल उद्यमीमध्ये एक बनाएको हो।