काठमाडौँ
राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय मानव अधिकार आयोगलाई जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
अभियानका प्रतिनिधिहरूले आयोगका अध्यक्ष तथा पदाधिकारीसँग भेट गरी आयुक्त लिली थापाको नेतृत्वमा तयार भएको भनिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन्। उनीहरूले प्रतिवेदन रोकिएको वा पुनर्लेखन भइरहेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।
भेटका क्रममा अभियानका प्रतिनिधिहरूले आयोगको कार्यालय अगाडि नै आफ्ना सहकर्मी पक्राउ परी आठ घण्टा हिरासतमा रहँदा समेत आयोग मौन बसेको भन्दै प्रश्न उठाएका थिए।
जवाफमा आयोगका अध्यक्षले स्वास्थ्य अवस्थाका कारण प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको बताएका छन्। आयोगले भने प्रतिवेदनको अध्ययन सकिएको र आगामी पाँच दिनभित्र आफ्नो धारणा तथा सिफारिस सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, आयोगका एक आयुक्तले राजनीतिक दलहरू सत्तामा हुँदा मानव अधिकारप्रति उदासीन हुने तर प्रतिपक्षमा पुगेपछि मात्र सक्रिय हुने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।
अभियानका प्रतिनिधिहरूले पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक नभए सशक्त विरोध र आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।