काठमाडौँ
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको सरकारी दाबी सार्वजनिक भए पनि उनी अझै परिवारको सम्पर्कमा नआएको भन्दै परिवार चिन्तित बनेका छन्। रिहा भएको भनिएको दुई दिन बितिसक्दा पनि झासँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका थिए। त्यसपछि परराष्ट्र मन्त्रालय ले पनि तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिक रूपमा रिहाइको खबर प्राप्त भएको जनाएको छ।
मन्त्रालयका अनुसार झालाई नेपाल फर्काउन आवश्यक प्रक्रिया अघि बढाइएको छ र सम्बन्धित निकायहरू निरन्तर समन्वयमा रहेका छन्। तर, औपचारिक विवरण अझै प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
यसबीच झाकी दिदी पूजा झाले भाइसँग रिहाइअघि कुराकानी भएको तर त्यसपछि कुनै सम्पर्क नभएको बताएकी छन्। उनले सरकारले जानकारी दिन ढिलाइ गरेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
परिवारको तर्फबाट पहल गरिरहेका उदयपुरका खेमनारायण यादवले पनि रिहाइको आधिकारिक जानकारी परिवारलाई नदिइनु अस्वाभाविक भएको टिप्पणी गरेका छन्। उनले सरकारी सूचना सार्वजनिक भए पनि परिवारसँग समन्वय नहुनु आपत्तिजनक भएको बताएका छन्।