काठमाडौँ।
२०८२ साल फागुण २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामले नेपालको राजनीतिमा एउटा अभूतपूर्व रुपमा ऐतिहासिक मोड ल्याइपुर्याएको छ । दशकौँदेखि नेपाली राजनीतिमा राज गर्दै आएका पुराना दुई ठूला दल—नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस—भित्र यस निर्वाचनले गम्भीर राजनीतिक पराकम्प पैदा गरिदिएको छ । एकातिर पुराना किल्लाहरू भत्किएका छन्,भने अर्कोतिर नयाँ दलको रुपमा स्थापीत पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक शक्तिका रूपमा उदाएको छ ।
यो निर्वाचन नेकपा एमालेका लागि इतिहासकै सबैभन्दा कमजोर सावित भएको छ । २०७९ सालको निर्वाचनमा ७८ सिटसहित संसद्को दोस्रो ठूलो दल बनेको एमाले यसपटक प्रत्यक्षतर्फ मात्र ९ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फको १६ सिट जोड्दा पनि एमाले २५ सिटसहित तेस्रो स्थानमा झरेको छ ।
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरूको लज्जास्पद पराजयले पार्टीभित्र ठूलो विद्रोहको बीउ रोपेको छ । महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले सार्वजनिक रूपमै नेतृत्व फेरबदलको विषय उठाएका छन् । उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जनमतलाई सम्मान गर्दै ‘सर्वांगीण रूपान्तरण’ मार्फत जनसमर्थन फिर्ता ल्याउनुपर्ने बताएका छन् । उनले नीतिगत त्रुटि र तहगत नेतृत्वको कमजोरीको जिम्मेवारी सबैले लिनुपर्ने उल्लेख गरेका छन् ।
ओलीको अडानः राजीनामा कि शक्ति प्रदर्शन?
पार्टीभित्र राजीनामाको माग उठिरहे पनि अध्यक्ष ओली भने हल्लिने अवस्थामा देखिँदैनन् । उनी कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अझै पनि २४० भन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको बुझाइमा रहेका ओलीले केन्द्रीय कमिटीको बैठक डाकेर हारको समीक्षा गर्ने र आफ्नो नेतृत्वलाई पुनः अनुमोदन गराउने तयारी गरेका छन् । यद्यपि, असन्तुष्ट समूहले भने निर्वाचनले पार्टीको नीति र नेतृत्व दुवैलाई जनताले अस्वीकृत गरिसकेको दाबी गर्दै आएको छ ।

ओलीले सार्वजनिक रूपमा हार स्वीकार गर्दै ‘अपेक्षित परिणाम प्राप्त नभएको’ बताएका छन् । उनले लोकतन्त्रमा जनताको फैसला अन्तिम हुने भन्दै त्यसलाई सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसको अवस्था पनि एमालेको भन्दा फरक छैन। युवा नेता गगन थापाको नेतृत्वमा चुनावी मैदानमा होमिएको कांग्रेसले व्यहोर्नुपरेको हारले पार्टीभित्र राजीनामाको बहसलाई तीव्र बनाएको छ । हिजोका दिनमा अरूको राजीनामा माग्ने गगन थापा आज आफैँ रक्षात्मक अवस्थामा पुगेका छन् । कांग्रेसभित्रको यो पराजयले पुराना दलहरूको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।
रास्वपाको ’क्लिन स्वीप’, नयाँ युगको सुरुवात
पुराना दलहरू संकटमा परिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने चुनावी मैदानमा चमत्कारिक नतिजा निकालेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको रास्वपाले समानुपातिकतर्फ पनि ५७ सिट सुरक्षित गरेको छ । रास्वपा सचिवालयले टुङ्गो लगाएको समानुपातिक सूचीले समावेशी प्रतिनिधित्वको नयाँ मानक स्थापित गरेको छ ।
प्रवक्ता मनिष झाका अनुसार ५७ समानुपातिक सिटमध्ये ४८ महिला र ९ पुरुष रहेका छन्। जातीय क्लस्टरअनुसार खसआर्य १७, आदिवासी–जनजाति १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जनाको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको छ। यो सूचीले रास्वपा केवल ’स्टन्ट’ मा मात्र नभई समावेशी लोकतन्त्र र उत्पीडित समुदायको अधिकारप्रति पनि प्रतिबद्ध रहेको सन्देश दिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार २०८२ को यो निर्वाचन परिणाम केवल हार र जितको तथ्याङ्क मात्र होइन, यो त पुराना दलहरूको कार्यशैलीप्रति जनताले दिएको कडा सजाय र नयाँ शक्तिप्रतिको भरोसा हो । रास्वपाको उदयले नेपालको आगामी राजनीतिक समीकरणमा आमूल परिवर्तन ल्याउने निश्चित छ । अब पुराना दलहरूले जनविश्वास फिर्ता ल्याउन केवल भाषणमा मात्र होइन, नीति र नेतृत्वमा पनि आमूल परिवर्तन (सर्वाङ्गीण रूपान्तरण) गर्नुपर्ने चुनौती खडा भएको छ । नेपालको राजनीति अब ’इतिहासको ब्याज’ बाट होइन, ’भविष्यको एजेन्डा’ बाट निर्देशित हुने सङ्केत यो निर्वाचनले दिएको छ ।