काठमाडौँ।
नेपाली काँग्रेसले आज ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । ४९ वर्षअघि आजकै दिन (२०३३ पुस १६ गते) प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
२०१७ सालमा राजा महेन्द्रले 'कु' गरेपछि आठ वर्ष जेल जीवन बिताएका बीपी २०२५ सालमा छुटेपछि भारतमा निर्वासित भएका थिए । भारतमा रहँदा सिक्किम विलय भएको घटनाबाट चिन्तित बीपीले राष्ट्रियता संकटमा परेको महसुस गर्दै आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा चलिरहेकै अवस्थामा पनि मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनीसँगै सर्वोच्च नेता गणेश मान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरू पनि आठ वर्षे निर्वासित जीवन त्यागेर नेपाल आएका थिए । त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई पुनः पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।
राष्ट्रियताको रक्षाका लागि प्रजातन्त्रवादी र राजावादी शक्तिहरू मिल्नुपर्छ भन्ने बीपीको यही नीतिको स्मरणमा कांग्रेस र उसका भ्रातृ संस्थाहरूले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।