काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले नेटो सदस्य राष्ट्र स्पेनसँगको सम्पूर्ण व्यापार तत्काल रोक्न निर्देशन दिएका छन्। रक्षा खर्चमा वृद्धि नगरेको र इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा आफ्नो हवाई क्षेत्र तथा सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै ट्रम्पले स्पेनमाथि यस्तो कठोर कदम चाल्न लागेका हुन्।
टर्कीको अंकारामा जारी नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले स्पेनलाई 'कमजोर साझेदार' को संज्ञा दिँदै अमेरिकी ट्रेजरी सचिवलाई स्पेनी उत्पादनमा प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले आफ्नो जीडीपीको ५ प्रतिशत रक्षामा खर्च गर्नुपर्ने माग गर्दै आएका छन्, जसलाई स्पेनले अस्वीकार गरेको छ।
यता, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने ट्रम्पसँगको भेट सौहार्दपूर्ण रहेको दाबी गर्दै स्पेन नेटोप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले व्यापारिक सम्बन्ध निजी क्षेत्रबाट सञ्चालित हुने भन्दै विवाद कम गर्ने प्रयास गरेका छन्। स्पेनबाट अमेरिकामा जैतुनको तेल, अटो पार्ट्स, स्टिल र मदिराजन्य उत्पादन ठूलो परिमाणमा निर्यात हुने गर्दछ। युरोपेली संघको सामूहिक व्यापार नीतिका कारण ट्रम्पको यो निर्णय कार्यान्वयनमा कानुनी जटिलता आउन सक्ने विज्ञहरूको विश्लेषण छ।