काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै दलबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सहमत भएका छन् । दुई नेताबीच भएको ७ बुँदे सम्झौताअनुसार, बालेन शाह रास्वपामा आबद्ध हुने र पार्टीको नाम, झण्डा र चुनाव चिह्न (घण्टी) यथावत् रहनेछ ।
सहमतिअनुसार, पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ । यो सहमतिसँगै मेयर शाहले पदबाट राजीनामा दिएर पूर्णकालीन पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना बढेको छ ।
दुई नेताले 'जेनजी' आन्दोलनको अपनत्व लिने, घाइते र शहीद परिवारको माग सम्बोधन गर्ने तथा १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा प्रतिबद्ध रहने घोषणा गरेका छन् ।
सहमतिअनुसार, अब बालेन शाह पक्षका उम्मेदवारहरू पनि रास्वपाबाटै चुनाव लड्नेछन् र दुवै पक्षले मिलेर समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउनेछन् । उनीहरूले अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि आफ्नो अभियानमा गोलबद्ध हुन आह्वान गरेका छन् ।
कारागारबाट रिहा भएपछि लामिछानेले एकताको छलफललाई तीव्रता दिएका थिए । यद्यपि, यो सहमतिमा कुलमान घिसिङ र उनको उज्यालो नेपाल पार्टीबारे केही उल्लेख छैन, तर भविष्यमा उनीहरूलाई पनि समेट्न सकिने संकेत गरिएको छ ।