काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले साउने संक्रान्ति तथा लिम्बू समुदायको पर्व सिसेःक्पा तङ्नामको अवसरमा शुभकामना दिँदै देशबाट राजनीतिक र सामाजिक विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार एक सन्देश जारी गर्दै आङ्देम्बेले साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गर्ने परम्परालाई स्मरण गर्दै नेपाली राजनीतिबाट पनि अधिनायकवादी सोच, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि बिदा गर्नुपर्ने धारणा व्यक्त गरे। उनले पछिल्लो समय देशमा निरंकुश शासकीय प्रवृत्ति बढेको र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
"जनता शासनको विषय होइनन्, उनीहरू राज्यशक्तिको वास्तविक स्रोत हुन्," आङ्देम्बेले भनेका छन्। उनले संविधानको मर्म, विधिको शासन र सामाजिक न्यायको प्रभावकारी कार्यान्वयनबाट मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै यी पर्वहरूले समृद्ध नेपालको साझा संकल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।