काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक नीतिगत सहजीकरण गर्ने बताउँदै तीनै तहको सरकारको समन्वयमा सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिए। उनले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिइने उल्लेख गरे।
छलफलका क्रममा व्यवसायीहरूले भारतबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायरा बाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। संघका अध्यक्ष सुरज बन्जाडेसहितको टोलीले सरकारले उद्योगमैत्री वातावरण बनाए स्वदेशी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाएका थिए।