काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता र साझा जिम्मेवारीमा जोड दिएका छन् । मतदानको दिन आज (मंगलबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी, आन्दोलन र राष्ट्रको रक्षा सबैको साझा कार्यभार भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी सबै जुट्छौँ, हामी जित्छौँ । पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार हो ।”
पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गर्दै सबै नेता-कार्यकर्ता एकताबद्ध भएर अघि बढेमा जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी र राष्ट्रको हित सुरक्षित गर्न सकिने सन्देश दिएका छन् ।
एमाले महाधिवेशनमा पोखरेल अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेसँग हुँदैछ ।