काठमाडौँ
२०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्ण प्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
१९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई रणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।