काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले बन्धक अवस्थामा दुःखद निधन भएका नेपाली विद्यार्थी बिपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सिने बताएकी छिन्। आज (बुधबार) जोशीप्रति समवेदना प्रकट गर्दै उनले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको बताइन्।
उनले भनिन्, "यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।"
प्रधानमन्त्री कार्कीले विपिन जोशी केवल एक विद्यार्थी मात्र नभएर ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधिसमेत रहेको बताइन्।
उनले थपिन्, "उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ। उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ। विपिन जोशीको आत्माले शान्ति पाओस्, उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।"

प्रधानमन्त्रीको यो भनाइले विपिन जोशीको बलिदानलाई राष्ट्रिय सम्मानका साथ स्मरण गरिने र उनको साहसलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा लिइने सन्देश दिएको छ।