काठमाडौँ।
आज घटस्थापना, दशैँको पहिलो दिन। आजदेखि नौरथाभरि उपत्यकाका नक्साल भगवती, शोभा भगवती, मैतिदेवी, दक्षिणकाली माई, पलान्चोक भगवती, गुह्येश्वरी लगायत देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।
यसमध्ये काठमाडौं उपत्यकाको उत्तर तारकेश्वर नगरपालिका-९ मा अवस्थित मनमैंजु मन्दिरको आफ्नै मौलिक परम्परा छ। आजदेखि देशभरबाट भक्तजनहरूको घुइँचो लाग्ने यस मन्दिरको उत्पत्तिको कथा रोचक छ।
मनमैंजुको उत्पत्ति र किंवदन्ती
मनमैंजु शक्तिपीठ सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको मानिन्छ। मनोरथ तीर्थको किनारमा अवस्थित यस इन्द्रायणी पीठलाई पौराणिक कथामा विभिन्न रूपले उल्लेख गरिएको छ। वंशावलीअनुसार राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना भएको थियो।
मनमैंजु जात्रा बालाजु बाइसधाराको प्रसङ्गसँग जोडिएको छ। ल्हुती पूर्णिमाको मेला (बाइसधारा जात्रा तथा जामाचो मेला) सँगै मनमैंजु जात्रा सुरु हुन्छ। यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैंजु देवीको दर्शन गरेमा चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ।
यहाँ नेपाल संवत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गराएको देखिन्छ। पित्तलको छाना र आकर्षक मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ।

किंवदन्ती अनुसार
एक किंवदन्तीअनुसार, परापूर्वकालमा काठमाडौंको फुसिख्य् गाउँमा मन नाम गरेकी एक कुरुप कन्याले विष्णुमती र केशुमती खोलाको दोभानमा बसी इन्द्रको तपस्या गरेकी थिइन्। उनको तपस्याबाट प्रसन्न भई इन्द्रले दर्शन दिएर वर माग्न भने। कन्याले इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिन्। इन्द्रले स्वीकार गरी विवाह गरे पनि उनको कुरुप अनुहारका कारण स्वर्गमा सुहाउँदिनन् भनी त्यहीँ छाडेर फर्किए। इन्द्रले उनलाई 'मनमैजु' नामले बस्नू र अनुहारमा दाग र पोतो हुने मानिसलाई सुन्दर बनाउनू भन्ने वरदान दिए। यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने जनविश्वास छ।
अर्को किंवदन्तीअनुसार, एकपटक मनोरथ तीर्थमा स्नान गरी निस्किएकी कुरुप मनमैंजुलाई इन्द्रले देखे। उनको शारीरिक बनावटमा मोहित भई इन्द्रले उनीसँग एक रात बिताए। भोलिपल्ट इन्द्र स्वर्ग फर्कन लाग्दा मनमैंजुले नजान बिन्ती गरिन्। इन्द्रले उनलाई 'यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ' भनी केही वर तथा उपहार दिएर प्रस्थान गरे।