काठमाडौँ ।
करिब नौ वर्षदेखि रोकिएको नेपाल र भारतबीचको गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ। गृहमन्त्री रमेश लेखकले बैठकमा सीमा समस्या र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण जस्ता महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिएका छन्।
सोमबार संघीय संसद्, राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामो समयदेखि हुन नसकेको बैठकका लागि तयारी भइरहेको बताएका हुन्। उनले बैठकको मिति तय भइनसके पनि यसै साताभित्र बस्ने निश्चित भएको जानकारी दिए।
गृहमन्त्री लेखकका अनुसार बैठकमा मुख्यतया सीमा समस्या, सीमा क्षेत्रमा हुने अपराधको नियन्त्रण र दुई देशबीचको आवतजावतलाई व्यवस्थित गर्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ। उनले अन्तर्राष्ट्रिय सीमा निर्धारण र त्यससम्बन्धी समस्या समाधानका लागि छुट्टै संयन्त्र भए तापनि सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्र नै प्रभावकारी रहेको स्पष्ट पारे।
बैठकमा गृह मन्त्रलयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नापी विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहनेछ। त्यसैगरी, भारतीय पक्षबाट पनि सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्।