काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।
राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी सचिव पदबाट राजीनामा दिएर लोकतान्त्रिक आन्दोलनमा होमिएका पाण्डेको भूमिका २०४६ र २०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी र स्मरणीय रहेको उल्लेख गरेका छन्। पाण्डेको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सधैँ मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले उनको निधनबाट मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन्।
क्यान्सरबाट पीडित ८५ वर्षीय पाण्डेको साउन १ गते शुक्रबार आफ्नै निवासमा निधन भएको थियो। साढे चार दशकसम्म नागरिक अधिकार र स्वतन्त्रताका लागि लडेका पाण्डेलाई भावी पुस्ताले राष्ट्र निर्माणको मानक व्यक्तित्वका रूपमा स्मरण गरिरहने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।