काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वराजाको सचिवालयले संविधान विपरीतका गतिविधि गरेको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पाठकलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
उनले भने, "पूर्वराजा शाहको सचिवालयमार्फत ‘श्री ५ महाराजधिराज’ जस्ता शब्दहरूको प्रयोग गरिएको छ, जुन नेपालको संविधान विपरीत मानिन्छ। सोही कारण उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।"
प्रहरीका अनुसार, पूर्वराजाका नाममा सचिवालयले सार्वजनिक गर्दै आएका सन्देश तथा सूचनाहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्दावली निरन्तर प्रयोग हुँदै आएको थियो।