काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार पुँजी बजारका नियामक निकाय र प्रमुख लगानीकर्ताहरूसँग बजार सुधारका विषयमा विशेष छलफल गरेका छन्। छलफलका क्रममा सरोकारवालाहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई यथासक्य चाँडो वैदेशिक रणनीतिक साझेदारसहित निजीकरण र पुनर्संरचना गर्न सुझाव दिएका छन्।
लगानीकर्ताहरूले हालको सरकारी लगानी र संरचनाका कारण आधुनिक कारोबार प्रणाली र नयाँ औजारहरूको विकासमा ढिलाइ हुने, व्यावसायिक निर्णय लिन नसकिने र क्षमतावान कर्मचारी आकर्षित गर्न समस्या भइरहेको बताए। उनीहरूले नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन वैदेशिक साझेदार अनिवार्य रहेकोमा जोड दिए।
बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल लगायतका विज्ञहरूको सहभागिता थियो। सहभागीहरूले प्राथमिक निष्कासन (IPO) प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण गर्न र बजारमा तरलता बढाउन 'इन्ट्र डे' कारोबार तत्काल सुचारु गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। प्रधानमन्त्री शाहले पुँजी बजारको विकास र लगानीकर्ताको हितका लागि सरकार सकारात्मक रहेको र प्राप्त सुझावहरूमाथि अध्ययन गरिने बताए।