काठमाडौँ ।
प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ भने विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहनेछ।
सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार, बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ। प्रतिनिधिसभा नियमावली, २०७९ मा हरेक महिनाको पहिलो हप्ता बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था रहेको छ।
त्यसलगत्तै, आर्थिक वर्ष २०८१र८२ को विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ हुनेछ। आजको बैठकमा समूहीकृत रूपमा ६ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रलय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलय, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने छ । यी मन्त्रालयहरूका लागि विनियोजित बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् र सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।