काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुख्य क्षेत्र गोकर्णेश्वरका बासिन्दा नै पानीबाट वञ्चित भएको भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को लापरबाही र कर्मचारीको 'नेक्सस' का कारण स्थानीयले सास्ती खेप्नुपरेको आरोप लगाए।
सांसद पाण्डेले जनताले पानी नपाए आफैँ पाइप फुटाउने र ड्याम बन्द गरिदिने चेतावनी दिएका छन्। "पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, म आफैँ फुटाउनेवाला छु," उनले आक्रोश पोखे। उनले आरुबारीमा निर्माणाधीन २ करोड लिटर क्षमताको पानी ट्यांकीको काम रोकिएकोमा आपत्ति जनाउँदै यसले गोकर्णेश्वरका १ देखि ९ वडासम्मका बासिन्दा प्रभावित भएको बताए।
स्थानीय वृद्धवृद्धा पानीका लागि रोइरहेको दृश्यले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले समितिलाई तत्काल स्थलगत अनुगमन गर्न आग्रह गरे। केयूकेएलको वितरण प्रणालीमा सुधार नभए स्थानीयलाई साथ लिएर सशक्त आन्दोलनमा उत्रिने उनको चेतावनी छ।