काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास र आर्थिक सुधारका सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा व्यवसायीहरूले भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन र मूल्य समायोजनमा देखिएका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधार भएको बताउँदै यस क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे। उनले निर्माण व्यवसायलाई मर्यादित र पारदर्शी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्न व्यवसायीहरूलाई आग्रह गरे।
भेटमा महासङ्घका अध्यक्ष निकोलश पाण्डेसहितका पदाधिकारीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिएका थिए। छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार लगायतका सल्लाहकारहरूको पनि उपस्थिति थियो।