काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले कर्णाली क्षेत्रमा देखिएको चिकित्सकको चरम अभाव र स्वास्थ्य बीमाको कमजोर अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले सल्यान अस्पताल लगायत कर्णालीका स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ र इन्टर्न चिकित्सक नपठाउँदा सुत्केरी सेवा र अन्य उपचार प्रभावित भएको बताए।
उनले एमडी/एमएस अध्ययन पूरा गरी स्वदेश फर्किएका चिकित्सकहरू मन्त्रालयको सम्पर्कमा आएको एक महिना बितिसक्दा पनि कार्यक्षेत्रमा नखटाइएकोमा आपत्ति जनाए। "सल्यान अस्पतालमा विशेषज्ञ अभावबारे दुई महिनाअघि नै ध्यानाकर्षण गराउँदा पनि सरकारले सुनेन, नागरिकहरू सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउन बाध्य छन्," मल्लले भने।
सांसद मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी प्रतिबद्धता (विपन्नको उपचार) स्मरण गराउँदै अहिले स्वास्थ्य बीमा कार्यक्रम झन् कमजोर बन्दै गएको टिप्पणी गरे। उनले ३,५०० रुपैयाँ प्रिमियममा १ लाखको उपचार दिन नसकिने भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने माग समेत गरे। उनले विपन्न नागरिक उपचारको पहुँचबाट टाढिँदै गएको भन्दै तत्काल सुधारको पहल गर्न आग्रह गरे।