काठमाडौँ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि हतार नगरिएको स्पष्ट पारेका छन्। नतिजामा त्रुटि देखिएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेपछि मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नतिजा तोकिएकै समयमा आएको दाबी गरेका हुन्।
मन्त्री पोखरेलले आवश्यक जनशक्ति थप गरेर र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर नतिजालाई समयमै सार्वजनिक गरिएको बताए। "राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ," उनले भने, "यो हतारमा गरिएको होइन, बरु प्रक्रियालाई चुस्त बनाएर समयमै नतिजा ल्याइएको हो।"
विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूविरुद्ध भइरहेका नकारात्मक टिप्पणी र दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको बताएका छन्। उनले आन्दोलनरत विद्यार्थीहरूलाई गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दै लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्नेमा जोड दिए।