काठमाडौँ।
सरकारले काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको सौन्दर्य अभिवृद्धि गर्न हाल प्रयोग भइरहेका सेता एलइडी र सिएफएल बत्ती हटाएर 'वार्म लाइट' (पहेँलो प्रकाश) जडान गर्ने तयारी गरेको छ। ऐतिहासिक र सांस्कृतिक संरचनाको मौलिक स्वरूप र कलात्मकतालाई थप उजागर गर्न ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयले यस्तो योजना अघि सारेको हो।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रको सौन्दर्यीकरणमा विशेष ध्यान दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेका छन्। मन्त्री श्रेष्ठका अनुसार सेतो प्रकाशले सम्पदाको प्राचीन र सांस्कृतिक महत्वलाई पूर्ण रूपमा झल्काउन नसकेकाले अब न्यानो र पहेँलो प्रकाश दिने बत्तीहरू प्रयोग गरिनेछ।
धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वका यी स्थलहरूमा वार्म लाइट जडान गर्दा रात्रीकालीन दृश्य थप आकर्षक हुने र यसले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने सरकारको अपेक्षा छ। मन्त्रालयले सम्पदाको स्वरूप र वातावरणसँग मेल खाने गरी प्रकाश व्यवस्थापन गर्ने नीति लिएको छ।