काठमाडौँ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपालमा लागूऔषधको बढ्दो प्रयोग र अवैध तस्करीलाई 'राष्ट्रिय चुनौती' को रूपमा चित्रण गरेका छन्। शुक्रबार गृह मन्त्रालयमा आयोजित 'अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस' को अवसरमा बोल्दै उनले लागूऔषध नियन्त्रण केवल प्रहरीको कार्यक्षेत्र मात्र नभई जनस्वास्थ्य र देशको भविष्यसँग जोडिएको गम्भीर विषय भएको बताए।
महानिरीक्षक कार्कीले लागूऔषधको उत्पादन, ओसारपसार र सेवनको ग्राफ डरलाग्दो गरी बढिरहेको भन्दै यसले युवा पुस्ताको स्वास्थ्य र सम्भावनामाथि ठूलो प्रहार गरिरहेकोमा चिन्ता व्यक्त गरे। "यो कानुन कार्यान्वयनको मात्र विषय होइन, जनस्वास्थ्यको गम्भीर चुनौती पनि हो," उनले भने, "युवाहरूको सुरक्षा र भविष्य जोगाउन यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिएर सबै पक्ष संवेदनशील हुनुपर्ने अवस्था आएको छ।"
कार्यक्रममा महानिरीक्षक कार्कीले लागूऔषधसम्बन्धी पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै अपराधको आयतन बढ्दै गएको जानकारी दिए। उनका अनुसार विगत पाँच वर्षको औसतमा वार्षिक चार हजार मुद्दा दर्ता र आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका थिए। तर, चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मै यो सङ्ख्याले विगतको औसतलाई उछिनेको छ।
चालु आर्थिक वर्षमा मात्रै लागूऔषधसम्बन्धी ५ हजार ४७ वटा मुद्दा दर्ता भइसकेका छन्। यी मुद्दामा कुल ८ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन्, जसमा ७ हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ जना अन्य विदेशी नागरिक रहेका छन्।

प्रहरीले यस वर्ष बरामद गरेको लागूऔषधको विवरण पनि सार्वजनिक गरेको छ। बरामद गरिएका सामग्रीहरूमा सबैभन्दा बढी ४५ हजार ८५० किलोग्राम गाँजा रहेको छ। यस्तै, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, ५ किलोग्राम ७६८ ग्राम कोकिन र १२५ किलोग्राम ६६ ग्राम अफिम बरामद गरिएको महानिरीक्षक कार्कीले जानकारी दिए।
लागूऔषधको जालो तोड्न सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले एकीकृत प्रयासको खाँचो औँल्याए। महानिरीक्षक कार्कीले सरकारी निकाय, नागरिक समाज, समुदाय र विशेषगरी अभिभावकहरूबीचको बलियो समन्वय र सहकार्यबाट मात्रै लागूऔषधको बढ्दो प्रभावलाई न्यूनीकरण र नियन्त्रण गर्न सकिने बताए।
प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई थप आक्रामक बनाउने प्रतिबद्धता जनाउँदै उनले यस अभियानमा सबै नागरिकलाई साथ दिन अपिल समेत गरे।

