काठमाडौँ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५५६ सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गरेका १०६, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १५४, ट्राफिक सङ्केत बत्ती मिच्ने १०७ र तीव्र गतिमा सवारी चलाउने १८३ जना रहेका छन्। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लेन अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ र सडक पेटीमा पार्किङ गर्ने ९८ जनालाई पनि कारबाही गरिएको छ।
यस्तै, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य विविध नियम पालना नगर्ने १ हजार ६७२ जना चालक कारबाहीमा परेका छन्। उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।