काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले सुशासनको नारा दिए पनि ठूला भ्रष्टाचारका काण्डहरूलाई ढाकछोप गरिरहेको आरोप लगाए।
सांसद शाहीले विद्युतीय सवारी साधनमा कर छली भएको र बजेटका गोप्य सूचना पहिल्यै चुहाएर केही निश्चित समूहलाई फाइदा पुर्याइएको दाबी गरे। उनले प्रधानमन्त्री कार्यालयले दुई हप्तासम्म भन्सारमा आएका विद्युतीय गाडीहरू किन नियन्त्रणमा राखेको भनी प्रश्न गर्दै यसमा गम्भीर अनियमितता भएको जिकिर गरे।
सरकारका नीतिहरू जनविरोधी रहेको टिप्पणी गर्दै शाहीले गरिबको स्वास्थ्य बिमा कटौती गर्ने, अस्पतालको उपचारमा कर लगाउने र बिजुलीमा भ्याट थपेर जनतालाई सास्ती दिने काम भएको बताए। साथै, प्रधानमन्त्रीले सीमाना मिचिएको विषयमा संसद्मा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक रहेको भन्दै उनले विरोध जनाए।
संसद्मा साना दलहरूलाई अपमान गरिएको भन्दै उनले शासन गर्ने अनुहार फेरिए पनि शैली र चरित्रमा कुनै परिवर्तन नआएको उल्लेख गरे। "हिजो सडकमा भौतिक आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ," शाहीले भने। उनले निष्पक्ष संसदीय समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरे।