काठमाडौँ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान भएको प्रतिस्पर्धामा घानाले खेलको अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयको पाँचौँ मिनेट (९५औँ मिनेट) मा क्यालेब यिरेन्कीले निर्णायक गोल गरे। यो गोल विश्वकप इतिहासमा घानाले सबैभन्दा ढिलो समयमा गरेको गोलका रूपमा समेत दर्ज भएको छ। खेलको पहिलो हाफमा पानामाले प्रभावशाली प्रदर्शन गरे पनि दोस्रो हाफमा घानाले आक्रामक शैली अपनाउँदै जित निकाल्न सफल भयो।
यो जितसँगै घाना समूह ‘एल’ मा ३ अंक जोड्दै इङ्गल्यान्डसँगै शीर्ष स्थानमा उक्लिएको छ। इङ्गल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएको थियो। उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा गोल बेहोरेको पानामाले भने हारबाट विश्वकपको यात्रा सुरु गरेको छ।