काठमाडौँ।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।
"सरकारले गुनासो गर्ने होइन, मन्त्री ज्यू सत्ता पक्ष हो कि विपक्ष भन्ने थाहा हुनुपर्छ," साम्पाङले भने, "यस्तो भएन उस्तो भएन भनेर लामो गीत सुनाउनुभयो, अर्को पटकदेखि समयको ध्यान दिनुहोला।" मन्त्री पुनले मन्त्रालयको साढे ३ अर्ब रुपैयाँ 'अबण्डा' (शीर्षक नखुलेको) बजेटमा रहेको र खर्च गर्न गाह्रो हुने बताएका थिए।
सांसद साम्पाङले २ अर्ब ५१ करोड रुपैयाँ अबण्डामा राखिएकोमा प्रश्न उठाउँदै कार्यक्रम नै नभएको ठाउँमा किन बजेट विनियोजन गरियो भन्दै दुरुपयोग हुन नदिन आग्रह गरे। उनले खर्च हुनै नसक्ने ठाउँमा बजेट थुपारेर राख्नुभन्दा ठोस कार्यक्रममा ध्यान दिन मन्त्री पुनलाई सचेत गराएका छन्।