काठमाडौँ ।
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त तथा सिफारिस आह्वान गरेको छ। बिहीबार सूचना जारी गर्दै मन्त्रालयले इच्छुक व्यक्ति स्वयंले आवेदन दिन सक्ने वा अन्य कुनै व्यक्ति वा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने जनाएको हो।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले मन्त्रालयको वेबसाइटमा उपलब्ध फारम भरेर वा इमेलमार्फत आफ्नो विस्तृत विवरण पेस गर्नुपर्नेछ। दरखास्त वा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५:०० बजेसम्म तोकिएको छ।
मन्त्रालयले प्राप्त आवेदनहरूबाट योग्यता र उपयुक्तताका आधारमा प्रारम्भिक सूची (सर्टलिस्ट) तयार गरी थप प्रक्रिया अघि बढाउनेछ। मुलुकको परराष्ट्र नीति र कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयले यो खुला आह्वान गरेको हो।