काठमाडौँ।
चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आगामी भाद्र २० गतेदेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
कार्यक्रममा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने सरकारको नीति रहेको बताए। उनले देशका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिए। "सानै उमेरदेखि विद्यार्थीमा लगानी गर्न सके मात्र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ, त्यसैले अबको पाठ्यक्रममा खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिनेछ," मन्त्री पोखरेलले भने।
आयोजकका अनुसार यस पटकको एनएसएल 'होम एन्ड अवे' र 'डबल राउन्ड रोबिन' फरम्याटमा सञ्चालन हुनेछ। प्रतियोगितामा १० देखि १२ वटा टोलीले सहभागिता जनाउने जानकारी दिइएको छ। यस नयाँ फरम्याटले प्रतियोगितालाई अझ बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।