काठमाडौँ
सम्पत्ति छानबिन आयोग, २०८३ ले आर्थिक वर्ष २०६२/६३ देखि २०८१ चैत मसान्तसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ। आयोगले बहाल रहेका तथा अवकाश प्राप्त राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारको स्वामित्वमा रहेको स्वदेश तथा विदेशका सम्पत्तिबारे विवरण माग गरेको हो।
आयोगको सूचनाअनुसार पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री, साथै तत्कालीन संसद् र संविधानसभा सदस्यहरूले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। त्यस्तै प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री र प्रदेश सांसदहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्षहरू पनि यस दायरामा परेका छन्।
त्यसैगरी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वन्यायाधीश, महान्यायाधिवक्ता र मुख्यन्यायाधिवक्ता पनि सम्पत्ति विवरण बुझाउनुपर्ने सूचीमा छन्। निजामती सेवाका सहसचिव र सोभन्दा माथिका कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारीहरू पनि छानबिनको दायरामा रहनेछन्।
नेपाल राष्ट्र बैंकका गभर्नरदेखि उच्च पदाधिकारी, सरकारी तथा सार्वजनिक संस्थानका प्रमुख, विश्वविद्यालयका पदाधिकारी तथा सरकारी अनुदान प्राप्त संस्थाका उच्च कर्मचारीहरू पनि यस प्रक्रियामा पर्नेछन्।
आयोगले सम्बन्धित व्यक्तिलाई आफ्नो तथा परिवारको नाममा रहेको चल–अचल सम्पत्ति, त्यसको स्रोत खुल्ने कागजातसहित ३० दिनभित्र काठमाडौँस्थित आयोगको कार्यालयमा आफैँ उपस्थित भएर, प्रतिनिधिमार्फत वा हुलाकमार्फत विवरण बुझाउन आग्रह गरेको छ।