काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले मध्यपूर्व युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्त अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
ट्रम्पले इरानको प्रतिक्रियालाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै क्षेत्रीय तनाव अझ बढ्न सक्ने संकेत दिएका छन्।
इरानसँगको विवादका कारण स्ट्रेट अफ हर्मुज क्षेत्रमा थप हिंसा हुन सक्ने र विश्व तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ। विश्लेषकहरूले यसले दीर्घकालीन भू–राजनीतिक जोखिम बढाउने बताएका छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले भने इरान कुनै दबाबसामु नझुक्ने प्रतिक्रिया दिएका छन्। उनले वार्ता आत्मसमर्पण नभएको स्पष्ट पारेका छन्।
तनावको असर एसियाली सेयर बजारमा पनि देखिएको छ। जापानको निक्केई र हङकङको ह्याङ सेङ सूचक घटेका छन् भने दक्षिण कोरियाको कोप्सी सूचक बढेको छ। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट जापान र दक्षिण कोरियाको भ्रमणमा जाने तयारीमा रहेका छन्।