डिसहोमको नाममा २९ लाखभन्दा बढी ठगी, ३६४ जना प्रभावितसहित तीन जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। विशेष अफरको नाममा ग्राहकलाई झुक्याएर रकम असुली गर्ने कार्यमा संलग्न तीन जनालाई काठमाडौँको टोखाबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले रिचार्ज बोनसको प्रलोभन देखाएर ठूलो संख्यामा ग्राहक ठगी गरेको खुलेको छ।

प्रहरीका अनुसार यो गिरोहले डिसहोमका ग्राहकलाई फोन गरी “एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज” दिने भन्दै विश्वास दिलाएर रकम असुल्ने गरेको थियो। उनीहरूले नक्कली रसिद, छाप तथा परिचयपत्र प्रयोग गरी आफूलाई आधिकारिक कर्मचारीका रूपमा प्रस्तुत गर्ने गरेका थिए।

अनुसन्धानबाट मुख्य योजनाकार आरती सिंखडा करिब चार वर्षसम्म डिसहोमको सब-डिलर तथा इन्टरनेट सेवामा संलग्न रहेकी र सोही क्रममा संकलन गरेको ग्राहक विवरणको दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नक्कली छाप, रसिद प्याड, परिचयपत्र तथा ग्राहक विवरण राखिएको डायरी बरामद गरेको छ। साथै, ठगीबाट उठाइएको रकम आरतीको आफ्नै तथा श्रीमान्को इसेवा, खल्ती र बैंक खातामा जम्मा गराइएको पाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार यो गिरोहले हालसम्म ३६४ जनाभन्दा बढीलाई ठगी गर्दै २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ। हालसम्म सात जना पीडितले मात्र उजुरी दिएका छन् भने अन्य पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यो समाचारमा

काठमाडौँदोलखाधादिङरामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...