काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। 'नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना' को प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न चीन सरकार, सिडका (CIDCA) र एफएओ (FAO) जस्ता साझेदारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।
मन्त्री चौधरीले नेपाली कृषि क्षेत्रले न्यून उत्पादकत्व, जलवायु परिवर्तनको असर, युवाको वैदेशिक पलायन र आधुनिक बजारसम्मको सीमित पहुँचजस्ता गम्भीर चुनौतीहरू सामना गरिरहेको बताइन्। विशेषगरी अन्तर्राष्ट्रिय स्तरको परीक्षण प्रयोगशालाको अभावले कृषि उपज निर्यातमा समस्या भइरहेको उनको भनाइ थियो।
सरकारले कृषिको यान्त्रीकरण, दिगो मूल्य शृङ्खला विकास र महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखेको मन्त्री चौधरीले जानकारी दिइन्। उनले चीनले कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा हासिल गरेको अनुभव नेपालका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै ज्ञान र प्रविधि आदान–प्रदानमा जोड दिइन्। चीन र एफएओको सहयोगमा सुरु भएको यो परियोजनाले नेपालको खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउने अपेक्षा गरिएको छ।