काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।
भौतिक बजारका साथै अनलाइन (डिजिटल) प्लेटफर्ममार्फत दैनिक उपभोग्य वस्तु, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको जनगुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो। 'उपभोक्ता संरक्षण ऐन, २०७५' बमोजिम गुणस्तरीय वस्तु र सेवा पाउनु उपभोक्ताको अधिकार भएको स्मरण गराउँदै विभागले मिसावट र चोरी पैठारी जस्ता कार्य दण्डनीय र अक्षम्य हुने जनाएको छ।
मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीतिअनुसार अब अनुगमनलाई थप तीव्र बनाइने विभागले उल्लेख गरेको छ। कानूनको उल्लंघन गरी उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने जुनसुकै व्यवसायीलाई पनि हदैसम्मको कडा कारबाही गरिने चेतावनी दिइएको छ। विभागले उत्पादनदेखि बिक्री वितरणसम्म संलग्न सबै व्यवसायीलाई कानूनले तोकेका सर्त र बन्देजहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।