काठमाडौँ
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सिंहदरवारमा जारी रहेको छ।
सङ्घीय संसद् सचिवालयको आह्वानमा महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसिरहेको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बसेको यो पहिलो औपचारिक बैठकमा सरकारका प्रतिनिधि, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि तथा सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।
भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान भएपछि सो अधिवेशन कसरी सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुटाउन बैठक बोलाइएको हो।
प्रतिनिधिसभा निर्वाचनबाट यसपटक नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन पनि प्रतिनिधिसभामा निर्वाचित भएका छन्।