काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थ र देशको आवश्यकता बुझेर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल हेरेर भावनामा बहकिँदा देशको भविष्य बिग्रन सक्ने चेतावनी दिए।
"नेपालमा कुन प्रकारको वैदेशिक हस्तक्षेप र चलखेल भइरहेको छ भन्ने कुरा काठमाडौँवासीले बुझ्नुभएको छ," लिङदेनले भने, "त्यसैले लहैलहैमा लागेर आफ्नो भविष्य बिगार्ने काममा आफ्नै हात प्रयोग नगर्नुस्।" उनले यसपटकको निर्वाचन केवल एक सांसद छान्ने प्रक्रिया मात्र नभई देशको अस्तित्व जोगाउने निर्णायक मोड भएको दाबी गरे।
अध्यक्ष लिङदेनले 'नेपाल प्रथम, नेपाली प्रथम' भन्ने भावनालाई आत्मसात् गर्दै मतदान गर्नुअघि हजार पटक सोच्न मतदाताहरूलाई आह्वान गरे। उनले वैदेशिक हस्तक्षेप रोक्न र मुलुकको विकासका लागि राप्रपाका उम्मेदवारहरूलाई विजयी गराउन समेत अपिल गरेका छन्। सभामा राप्रपाका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।