काठमाडौँ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने लगायतका सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयहरूबारे जानकारी गराउनुभएको हो।
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसैगरी, सरकारले युवाहरूको प्रतिनिधित्व र मुद्दालाई सम्बोधन गर्न 'जेनजी परिषद्' (Gen Z Council) गठन गर्ने निर्णय समेत गरेको छ।
यस्तै, बैठकले आगामी नयाँ वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदाहरूको सूची समेत स्वीकृत र निर्धारण गरेको छ। प्रवक्ता अर्यालका अनुसार बैठकले अन्य प्रशासनिक र समसामयिक विषयमा पनि विभिन्न निर्णयहरू गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
१. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय ।
२. चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।
३. काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने।
४. बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने ।
५. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।
६. प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फाल्गुन २० गतेदेखि २२ गतेसम्म तिन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।
७.जेनजी परिषद गठन गर्ने ।