काठमाडौँ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचनअघि राजनीतिक दलहरूबीच ठोस समझदारी हुनुपर्नेमा जोड दिएका हुन्।
शाहले प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको परिस्थिति सामान्य नरहेको उल्लेख गरे। "राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुनेछ," उनले भने, "निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्नका लागि पहिले नै समझदारी बनाएर जानु सही बाटो हुने थियो।"
उनले राजनीतिक दलहरूमा 'आलोपालो भाग लगाएर खाऔँ' भन्ने सोच हाबी भएको भन्दै त्यसको सट्टा 'मिलेर जाऔँ' भन्ने भावनाले मात्र मुलुकलाई गति दिन सक्ने बताए। अधिकार खोज्ने तर कर्तव्य बिर्सने प्रवृत्तिको आलोचना गर्दै उनले देश अहिले अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको दाबी गरे।
पूर्वराजाले देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको भन्दै विगतका राजनीतिक परिवर्तनले जनतालाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए। उनले जनता सचेत नहुँदासम्म प्रजातन्त्र बलियो नहुने र देश बाह्य निर्देशनको जञ्जिरमा बाँधिएको टिप्पणी समेत गरे।