काठमाडौँ।
ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार साँझ भेटवार्ता भएको छ। राजनीतिक वृत्तमा नयाँ समीकरण र एकताको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटवार्ताको तस्बिर मन्त्री घिसिङले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। तस्बिरसँगै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’
यो भेटवार्ता यस्तो समयमा भएको हो, जतिबेला आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। मन्त्री घिसिङको संरक्षणमा दर्ता भएको मानिएको उज्यालो नेपाल पार्टी पनि रास्वपासँग एकताका लागि निरन्तर संवादमा रहेको चर्चा छ।
यही राजनीतिक सन्दर्भमा स्वतन्त्र छविका लोकप्रिय मेयर बालेन र मन्त्री घिसिङबीचको भेटले विभिन्न अड्कलबाजीलाई जन्म दिएको छ। यसले वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ ध्रुवीकरणको सम्भावनालाई समेत संकेत गरेको छ।