काठमाडौँ
संयुक्त राष्ट्र सुरक्षा परिषद् डोनाल्ड जोन ट्रम्पले प्रस्ताव गरेको गाजा स्ट्रिप शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी मस्यौदामाथि मतदान गर्न तयारी गरिरहेको छ। प्रस्तावित योजना अनुसार गाजामा एक अन्तर्राष्ट्रिय स्थिरीकरण बल (ISF) तैनाथ गरिनेछ र संक्रमणकालीन प्रशासन स्थापना गरिनेछ। अमेरिकाले धेरै देशहरू अन्तर्राष्ट्रिय स्थिरीकरण बलमा योगदान गर्न इच्छुक रहेको बताएको छ, तर यसले हमासलाई निशस्त्र गराउने कि केवल शान्ति कायम गर्ने भूमिकामा रहने भन्ने स्पष्ट छैन।
यस प्रस्तावमा गाजामा नयाँ तालिमप्राप्त फिलिस्तिनी प्रहरी गठन गर्ने र अन्तर्राष्ट्रिय स्थिरीकरण बलले इस्रायल तथा मिसरसँग सहकार्य गर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय स्थिरीकरण बलले गैर-राज्य सशस्त्र समूहहरूको स्थायी निशस्त्रीकरण, नागरिक सुरक्षाको सुनिश्चितता र मानवीय सहायता मार्गहरूको रक्षा गर्ने जिम्मेवारी पाउनेछ। तर हमासले यसलाई “खतरनाक” तथा गाजालाई अन्तर्राष्ट्रिय नियन्त्रणमा ल्याउने प्रयास भन्दै कडा विरोध जनाएको छ।
मस्यौदाले गाजाको पुनर्निर्माण तथा अस्थायी प्रशासनका लागि ट्रम्प नेतृत्वको बोर्ड अफ पीस स्थापना गर्ने प्रस्ताव पनि राखेको छ। अरब मुलुकहरूको दबाबपछि नयाँ पाठमा सम्भावित भविष्यकाे फिलिस्तिनी राज्यबारे उल्लेख गरिएको छ, तर यसलाई प्रत्यक्ष लक्ष्यको रूपमा भने उल्लेख गरिएको छैन। यद्यपि, यस्तो उल्लेखले इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो गठबन्धनभित्रैको कडा आलोचनासँग सामना गर्न बाध्य बनाएको छ, कारण उनले जोर्डन नदीको पश्चिममा फिलिस्तिनी राज्यकाे अवधारणाप्रति आफ्नो असहमतिबाट पछि नहट्ने बताएका छन्।
ट्रम्पको शान्ति योजनाले २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि सुरु भएको दुई वर्ष लामो इस्रायल–हमास युद्धमा एक प्रकारको युद्धविराम ल्याएको थियो। उक्त आक्रमणमा १,२०० भन्दा बढी इस्रायली मारिएका थिए भने २५१ जना अपहरण गरिएका थिए। त्यसयता गाजामा इस्रायली सैन्य कारवाहीका कारण ६९,४८३ भन्दा बढी फिलिस्तीनी मारिएको हामासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताउँछ।