काठमाडौँ।
जेनजी अभियानका अगुवा तथा 'हामी नेपाल' का संस्थापक सुदन गुरुङले देशमा वैकल्पिक नागरिक शक्तिको आवश्यकता तीव्र रूपमा बढेको भन्दै चर्चित सार्वजनिक व्यक्तित्वहरूलाई एउटै मञ्चमा उभिन खुलेर आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीप्रेम भन्दा पनि देशप्रेमी नेपालीको अभूतपूर्व एकता अब अपरिहार्य भएको बताएका छन्।
गुरुङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ र युवा अभियन्ता सागर ढकालसहित वर्तमान पुस्ताले विश्वास गरेका चर्चित अनुहारहरूलाई 'एकै ठाउँमा सँगै उभिनुहोस्' भन्दै सार्वजनिक आव्हान गरेका छन्। "हामी सम्पूर्ण नेपालीको एउटै चाहना छ। तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्," उनले आफ्नो सन्देशमा लेखेका छन्।
उनका अनुसार जेनजी अभियानको पहिलो चरण सफलतापूर्वक पूरा भइसकेको छ। ७ वटै प्रदेश, ७७ वटै जिल्ला, सबै स्थानीय तह र वडास्तरसम्म युवापुस्ता अब संगठनगत रूपमा एकजुट भइसकेको दाबी उनले गरेका छन्। अब दोस्रो चरणमा सबै पुस्तालाई जोड्ने गरी एक डिजिटल प्लेटफर्म छिट्टै सार्वजनिक गरिने गुरुङले जानकारी दिए।
दोस्रो चरणको मूल लक्ष्य भनेकै जनताले भरोसा गरेका जिम्मेवार र लोकप्रिय व्यक्तित्वहरूलाई एकै मञ्चमा ल्याउँदै 'देश परिवर्तन' अभियानलाई व्यापक बनाउनु रहेको उनले बताए।
गुरुङले गोरखाबाट राष्ट्र निर्माणको ऐतिहासिक यात्रा सुरु भएको स्मरण गर्दै यो अभियान पनि त्यही स्थानबाटै सुरु गर्ने घोषणा गरेका छन्। "जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, उही ठाउँबाट आशीर्वाद लिएर नयाँ देश परिवर्तन अभियान थाल्दैछौँ," उनले भने।